आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस देशभर मनाइँदै
चितवन, २७ पुष । आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मुलुकभर विविध कार्यक्रमका साथ मनाइँदैछ। विसं १७७९ मा जन्मिनुभएका शाहको स्मरणमा देशभर श्रद्धाञ्जलि तथा सम्मानका कार्यक्रम आयोजना गरिएको हो।
आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहले राष्ट्र निर्माणमा पुर्याएको योगदानको कदरस्वरूप आज सिंहदरबार पश्चिम ढोकाअगाडि रहेको उहाँको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरिँदैछ। यस अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चियापान समारोह आयोजना गरेको छ, जसमा प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्ष नेता, पूर्वप्रधानमन्त्री तथा विशिष्ट व्यक्तित्वहरूलाई आमन्त्रण गरिएको छ। शाहको जन्मस्थल गोरखामा पनि हरेक वर्षझैँ विशेष कार्यक्रमका साथ यो दिवस मनाइँदैछ।
नेपाली सेनाले पनि पृथ्वी जयन्तीका अवसरमा सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा रहेको राष्ट्रनिर्माताको पूर्णकदको सालिकमा माल्यार्पण गरी सम्मान प्रकट गर्दै आएको छ।
तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले सामाजिक, आर्थिक तथा भौगोलिक चुनौतीका बीच जनताको सक्रिय सहयोग र सहभागितामा छरिएर रहेका बाइसे–चौबीसे राज्यलाई एकीकरण गर्नुभएको थियो। २० वर्षको उमेरमा गद्दी आरोहण गर्नुभएका उहाँले आन्तरिक तथा बाह्य शक्तिलाई पराजित गर्दै एकीकरण अभियान अघि बढाउनुभएको थियो। विसं १८३१ मा उहाँको ५२ वर्षको उमेरमा निधन भएको थियो।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसले साझा इतिहास, संस्कृति र गौरवको स्मरण गराउँदै विविधताबीचको एकतालाई अझ सुदृढ बनाउने सन्देश दिन्छ। व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रहितलाई प्राथमिकता दिनुपर्ने सन्देश यस दिवसले प्रवाह गर्दै आएको छ, जसले सशक्त र समावेशी राष्ट्र निर्माणमा योगदान पुर्याउँछ। साथै, युवापुस्तामा मातृभूमिप्रति समर्पण, सेवा र जिम्मेवारीको भावना जागृत गराउन पनि यस दिवसको विशेष महत्व रहेको छ।
पृथ्वीनारायण शाहको एकीकरण अभियानकै कारण नेपालको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकता सुरक्षित रहन सकेको इतिहास छ, जसका कारण नेपाल विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये एक बन्न पुगेको हो। उहाँका ‘घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ जस्ता दिव्योपदेश आज पनि भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवर्द्धनका सन्दर्भमा उत्तिकै सान्दर्भिक छन्। साथै, भौगोलिक अवस्थालाई ध्यानमा राख्दै नेपाललाई ‘दुई ढुङ्गाबीचको तरुल’को संज्ञा दिनुभएको विचार पनि आजसम्म मार्गदर्शक बनेको छ।
यस अवसरमा उपराष्ट्रपति, सभामुख, विभिन्न राजनीतिक दलका नेता तथा राष्ट्रका विशिष्ट व्यक्तित्वहरूले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना सन्देश दिएका छन्।





















