नेपाली कांग्रेसले थापा, शर्मा र मन्सुरलाई पाँच वर्षका लागि निष्कासन
चितवन, ३० पुस । नेपाली कांग्रेसले महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्ला मन्सुरलाई पार्टी अनुशासन उल्लङ्घन गरेको आरोपमा कारबाही गरेको छ।
पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा आज सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले उनीहरूलाई पार्टी विधान र हितविपरीत गतिविधिमा संलग्न भएको भन्दै पाँच वर्षका लागि निष्कासन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिएका छन्।
महामन्त्री थापा, शर्मा र सहमहामन्त्री मन्सुरले कांग्रेसको विशेष महाधिवेशन पक्षद्वारा आह्वान गरिएको महाधिवेशन अगुवाइ गर्नुका साथै नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाउने कार्यमा संलग्न रहेको आरोप उनीहरूमा लागेको छ।
बैठकपछि बाहिरिनुभएका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले केन्द्रीय कार्यसम्पादन समितिले १५औँ महाधिवेशनको कार्यतालिका र सबै निर्णयहरू पारित गरेको जानकारी दिएका छन्।



















