माघ शुक्ल प्रतिपदा आज, हर्षोल्लासका साथ मनाइँदै सोनाम ल्होसार
चितवन, ०५ माघ । तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउँदै आएको सोनाम ल्होसार (नयाँ वर्ष) पर्व आज विविध कार्यक्रमका साथ मनाइरहेका छन्। मञ्जुश्री पात्रोअनुसार आजदेखि २८६२ औँ नयाँ वर्ष सुरु भएको छ भने सर्प वर्ष पूरा भई घोडा वर्ष प्रवेश भएको छ।
सोनाम ल्होसारलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा विभाजन गरिएको छ। यी वर्षहरू पशुपन्छीका नामबाट गणना गरिएकाले तामाङ समुदाय प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताएका छन्।
तामाङ समुदायको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रूपमा मनाइन्छ। पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गर्ने जनाएको छ। त्यस्तै नेपाल तामाङ घेदुङले टुँडिखेलमा शनिबारदेखि तीन दिनसम्म ल्होसार महोत्सव आयोजना गरेको छ। राजधानीको स्वयम्भू क्षेत्रमा पनि विभिन्न कार्यक्रम गरी पर्व मनाइनेछ।
करिब ४ हजार ७०० वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया र सिंगापुरलगायत देशहरूमा पनि मनाइन्छ। नेपालमा तामाङ समुदायसँगै ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले पनि सोनाम ल्होसार मनाउने गर्दछन्।
यस अवसरमा आइतबारदेखि राजधानीको टुँडिखेलमा ल्होसार महोत्सव सुरु भएको छ। महोत्सवमा तामाङ समुदायका ताम्बा, बोन्बो र लामाहरूको विशेष सांस्कृतिक झाँकी, परम्परागत गीत तथा नृत्य प्रस्तुत गरिनेछ। साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कलाकारहरूको प्रस्तुति पनि रहने मूल समारोह समितिले जनाएको छ।


















