पूर्वमन्त्री नन्दन दत्तको निधन
चितवन, १० माघ । पूर्वमन्त्री नन्दन दत्तको निधन भएको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित मधुवन घर भएका दत्तको ब्रेनहृयामरेजका कारण शुक्रबार राति निधन भएको हो । ७० वर्षीय दत्तको स्वास्थ्यमा समस्या आएपछि विराटनगरस्थित नोबेल मेडिकल कजेजमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा निधन भएको हो ।
तत्कालीन मधुवन गाविसमा दुईपटक कांग्रेसबाट अध्यक्ष समेत भइसकेका दत्त २०६४ सालको संविधानसभा चुनावमा मधेशी जनअधिकार फोरमबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित बनेका थिए । नेपाली राजनीतिमा मधेशकेन्द्रित राजनीतिक धारबाट उदाएका दत्त फोरम विभाजित भएपछि बाबुराम भट्टराई नेतृत्वको सरकारमा जयप्रकाश गुप्ता नेतृत्वको फोरम गणतान्त्रिकको तर्फबाट कृषीमन्त्री बने ।
दत्त पछिल्लो समय नेपाली कांग्रेसमै फर्किएर केन्द्रिय सदस्य बनेका थिए । उनका श्रीमती, दुई छोरा र एक छोरी छन् ।



















