विश्व ‘एचई उच्च शिक्षा र्याङ्किङ’मा काठमाडौँ विश्वविद्यालय १२२औँ स्थानमा
चितवन, १० चैत्र । संयुक्त राज्य अमेरिकास्थित एक संस्थाद्वारा सार्वजनिक गरिएको ‘एचई उच्च शिक्षा र्याङ्किङ’मा काठमाडौँ विश्वविद्यालय विश्वका ५०७ विश्वविद्यालयमध्ये १२२औँ स्थानमा परेको छ।
९५ देशका विश्वविद्यालय सहभागी उक्त र्याङ्किङमा उच्च शिक्षामा प्रभाव मापन गर्न २५ मापदण्डअन्तर्गत १३६ सूचक प्रयोग गरिएको जनाइएको छ। यो मूल्याङ्कन विशेषगरी दक्षिण एसिया, दक्षिण अमेरिका र पूर्वी युरोपका उदीयमान विश्वविद्यालयहरूको कार्यसम्पादन र सञ्चालन क्षमतामा केन्द्रित रहेको बताइएको छ।
उक्त संस्थाले विश्वविद्यालयहरूको वास्तविक सञ्चालन प्रक्रिया र कार्यसम्पादनका आधारमा मूल्याङ्कन गर्दै समग्र तथ्यपरक चित्र प्रस्तुत गर्ने गरेको छ। प्रतिवेदनअनुसार काठमाडौँ विश्वविद्यालयले स्रोत व्यवस्थापन, शैक्षिक पारदर्शिता र भविष्य उन्मुख योजनामा उल्लेखनीय सम्भावना देखाएको छ।
मूल्याङ्कनका सूचकहरूमा समावेशिता, दिगो विकास, पारदर्शिता, उत्तरदायित्व, अनुसन्धान प्रणाली, क्याम्पस सुरक्षा, अन्तर्राष्ट्रियकरण, शैक्षिक निष्ठा र डिजिटल पहुँचजस्ता पक्ष समेटिएका छन्।
संस्थाले शिक्षण, अनुसन्धान, सुशासन, समानता र सामाजिक प्रभावमा सुधारका लागि मार्गनिर्देशन गर्ने उद्देश्यले र्याङ्किङ तयार गरिएको जनाएको छ।
काठमाडौँ विश्वविद्यालयलाई पठाइएको इमेलमा ‘एचई उच्च शिक्षा र्याङ्किङ’की सचिव नूरा अब्दुलजलीलले यो उपलब्धि विश्वविद्यालयका नेतृत्व, प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा पूर्वविद्यार्थीको संयुक्त प्रयासको परिणाम भएको उल्लेख गरेकी छन्।
काठमाडौँ विश्वविद्यालयका शैक्षिक उत्कृष्टता निर्देशनालय प्रमुख प्रा.डा. हेमराज काफ्लेले उक्त प्रतिवेदनले संस्थागत सञ्चालनबारे महत्त्वपूर्ण अन्तरदृष्टि दिएको र अन्तरराष्ट्रिय र्याङ्किङमा सहभागिताका लागि आवश्यक तथ्याङ्क सुदृढ गर्न सहयोग पुग्ने बताएका छन्।

















