मालपोत कार्यालयले आठ महिनामा १ करोड ८६ लाख राजस्व सङ्कलन
चितवन, २४ चैत्र । मालपोत कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा रु १ करोड ८६ लाख ७२ हजार राजस्व सङ्कलन गरेको छ। कार्यालयका अनुसार साउनदेखि फागुन मसान्तसम्म विभिन्न शीर्षकबाट यो रकम सङ्कलित भएको हो।
कार्यालय प्रमुख मोहनबहादुर विष्टका अनुसार सबैभन्दा बढी रकम घरजग्गा लिखत रजिष्ट्रेसन शुल्कबाट रु १ करोड २६ लाख २३ हजार ७७७ सङ्कलन भएको छ। त्यस्तै, पुँजीगत लाभकरतर्फ रु ५७ लाख ३४ हजार ५३६ र विविध शीर्षक अन्तर्गत रु ३ लाख १३ हजार ८६९ राजस्व सङ्कलन भएको उनले बताए।
सङ्कलित पुँजीगत लाभकर संघीय सरकारमा पठाइने प्रावधान रहेको छ भने पुर्जा धितो, रोक्का, संशोधन, घर कायम, नामसारी विलम्ब शुल्कलगायत राजस्व रकम प्रदेश सरकारमा जान्छ। घरजग्गा रजिष्ट्रेसन दस्तुरको कुल रकमको ४० प्रतिशत प्रदेश सरकार र ६० प्रतिशत स्थानीय सरकारमा पठाइने व्यवस्था छ।
गत आर्थिक वर्षमा यसै अवधिमा कुल रु दुई करोड ४० लाख राजस्व सङ्कलन भएको थियो, जसमा घरजग्गा रजिष्ट्रेसन दस्तुर रु १ करोड ४२ लाख २३ हजार, सेवा शुल्क रु ९८ लाख २४ हजार, गुठी रु ३ लाख ६४ हजार र पुँजीगत लाभकर रु ८४ लाख २९ हजार रहेको थियो।
























