दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमण : १० जनाको मृत्यु, २७ घाइते
चितवन, ३१ बैशाख । दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । लेबनानको जनस्वास्थ्य मन्त्रालयले घटनाबारे जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार नबातीह जिल्लाको अरबसालिम सहरमा भएको आक्रमणमा तीन बालबालिका र दुई महिलासहित ६ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
त्यस्तै हारुफ सहरमा भएको अर्को आक्रमणमा एक बालकको मृत्यु र पाँच जना घाइते भएका छन् । रौमाइन सहरमा भएको आक्रमणमा दुई बालकसहित तीन जनाको मृत्यु र एक जना घाइते भएको जनाइएको छ ।
जिब्किन सहरमा भएको छुट्टै आक्रमणमा चार महिलासहित नौ जना घाइते भएका छन् ।
मन्त्रालयका अनुसार गत मार्च २ देखि जारी इजरायली आक्रमणमा हालसम्म २ हजार ८९६ जनाको मृत्यु र ८ हजार ८२४ जना घाइते भएका छन् । इजरायली सेनाले भने गत अप्रिलमा सुरु भएको युद्धविरामको उल्लङ्घन गर्दै दक्षिणी लेबनानमा आक्रमण जारी राखेको बताइएको छ ।




















