मन्थली नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड २० लाखको बजेट
चितवन, ०८ असार । मन्थली नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ३ करोड २० लाख १५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
नगरसभाको १९औँ अधिवेशनमा उपप्रमुख ईश्वरी बस्नेतले बजेट प्रस्तुत गर्दै कुल बजेटमध्ये ७४ प्रतिशत चालु खर्च र २६ प्रतिशत पुँजीगत खर्चका लागि विनियोजन गरिएको जानकारी दिइन्।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवर्षी सापकोटाका अनुसार यो बजेट गत आर्थिक वर्षको तुलनामा १ करोड ४५ लाख ४९ हजार रुपैयाँले कम हो। आन्तरिक आम्दानीमा आएको कमीका कारण बजेटको आकार केही घटेको उनले बताए।
नगरप्रमुख लव श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, चालु तथा पुँजीगत बजेट, साथै चालु आवमा भएको खर्चको अनुमोदन गरेको छ।
‘शिक्षित, स्वस्थ र व्यावसायिक सहर : उत्थानशील र समृद्ध मन्थली नगर’ भन्ने मूल नारासहित नगरसभा सम्पन्न भएको हो।























