होल्डिङ सेन्टरबाट सुकुम्बासीलाई ननिकाल्न नारायणकाजी श्रेष्ठको आग्रह, ‘नत्र परिणाम गम्भीर हुन सक्छ’
चितवन, १५ असार । नेपाल कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूको वैज्ञानिक र मानवीय ढंगले पुनःस्थापना गर्न सरकारसँग आग्रह गरेका छन्।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले उचित पुनर्वासको व्यवस्था नभएसम्म सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट बलजफ्ती हटाउने कार्य तत्काल रोक्न सरकारलाई आग्रह गरेका हुन्। अन्यथा त्यसको परिणाम गम्भीर हुन सक्ने चेतावनी पनि उनले दिएका छन्।
श्रेष्ठले काठमाडौं महानगरपालिकाले नेपाली सेनासहित सुरक्षा निकाय परिचालन गरी बल प्रयोग गरेर सुकुम्बासीहरूलाई विस्थापित गरेपछि अस्थायी रूपमा विभिन्न होल्डिङ सेन्टरमा राखिएको उल्लेख गरेका छन्। तर पुनर्वासको व्यवस्था नगरी उनीहरूलाई ती सेन्टरबाट निकाल्न सूचना, धम्की र चेतावनी दिइनु गैरजिम्मेवार र अमानवीय भएको उनको टिप्पणी छ।
उनले सुकुम्बासीहरूको यथाशीघ्र वैज्ञानिक, व्यवस्थित र मानवीय आधारमा उचित बसोबासको व्यवस्था गर्न तथा त्यस्तो व्यवस्था नभएसम्म होल्डिङ सेन्टरबाट बलजफ्ती हटाउने कार्य रोक्न सरकारसँग माग गरेका छन्।






















