नेप्से ३०.०९ अंकले घट्यो, कारोबार ४ अर्ब ८२ करोड रुपैयाँभन्दा बढी
चितवन, २४ आषाढ । धितोपत्र बजारमा आज सेयर कारोबार मापक नेप्से परिसूचक ३० दशमलव ०९ अंकले घटेर दुई हजार ६२१ दशमलव ५९ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ९२ अंकले घटेर ४५६ दशमलव ६८ विन्दुमा पुगेको छ। फ्लोट सूचक दुई दशमलव ०६ अंकले ओरालो लागेर १७९ दशमलव ८९ तथा सेन्सेटिभ फ्लोट सूचक एक दशमलव ४२ अंकले घटेर १५४ दशमलव ५८ विन्दुमा कायम भएको छ।
आज विभिन्न कम्पनीका ८४ लाख ६३ हजार १५ कित्ता सेयर चार अर्ब ८२ करोड ६० लाख ८४ हजार ८२५ रुपैयाँ बराबरमा खरिद–बिक्री भएको छ। कारोबार भएका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घट्दा एक उपसमूह मात्रै बढेको छ। यस दिन २५ कम्पनीको सेयर मूल्य बढ्दा २४७ कम्पनीको सेयर मूल्य घटेको छ।
नेप्सेका अनुसार सिटिजन बैंक डिबेञ्चर, एनएमबी डिबेञ्चर र प्रभु बैंक डिबेञ्चरका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। यता, कर्पोरेट डेभलपमेन्ट बैंक, उपकार लघुवित्त वित्तीय संस्था र सानीगाढ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्।

























