आर्थिक वर्ष २०८२/८३ मा ५८ अर्बभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत
चितवन, ०२ साउन । उद्योग विभागले आर्थिक वर्ष २०८२/८३ मा कुल ५८ अर्ब एक करोड ८५ लाख रुपैयाँभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता स्वीकृत गरेको जनाएको छ।
विभागका अनुसार गत साउनदेखि असार मसान्तसम्म ‘अटोमेटिक रुट’मार्फत ८९७ वटा परियोजनाका लागि नौ अर्ब ५८ करोड रुपैयाँ र ‘अप्रुभ्ड रुट’मार्फत २१९ वटा परियोजनाका लागि ४८ अर्ब ४१ करोड ६६ लाख रुपैयाँभन्दा बढी लगानी प्रतिबद्धता प्राप्त भएको हो।
क्षेत्रगत रूपमा हेर्दा उत्पादनमूलक क्षेत्रका ६३ परियोजनामा तीन अर्ब ९१ करोड रुपैयाँ, ऊर्जा क्षेत्रका चार परियोजनामा सात अर्ब १६ करोड रुपैयाँ तथा कृषिमूलक क्षेत्रका १८ परियोजनामा २३ अर्ब १८ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।
त्यसैगरी पर्यटन क्षेत्रका २२७ परियोजनामा १३ अर्ब ९९ करोड रुपैयाँ र सूचना प्रविधि (आईटी) क्षेत्रका ७२७ परियोजनामा दुई अर्ब ८३ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत भएको उद्योग विभागले जनाएको छ।



















