क्यानडाविरुद्ध कप्तान रोहितले दिलाए नेपाललाई अर्काे सफलता
प्रकाशित मिति: बिहिबार, माघ २५, २०८० | १५:४८:१३
काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा क्यानडाविरुद्ध नेपालका कप्तान रोहितकुमार पौडेलले तेस्रो सफलता दिलाएका छन् । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले दिएको २२५ रनको लक्ष्य पछ्याइरहेको क्यानडाका पर्गत सिंहलाई रोहितले १९.४ ओभरमा पभेलियनको दिशा देखाए । क्यानडाबाट अर्धशतक बनाएका पर्गतले निकालस किर्टोनसँग ७९ रनको साझेदारी गर्दै टिमको इनिङ सम्हालेका थिए ।
क्यानडाको यो साझेदारी तोडेका रोहितले पर्गतलाई ५० रनमा ललितनारायण राजवंशीबाट क्याच गराए । जारी खेलको २२ ओभर समाप्त हुँदा क्यानडाले तीन विकेट गुमाएर १२२ रन बनाएको छ । यसअघि नेपालका लागि रिजन ढकाल र सोमपाल कामीले विकेट लिएका हुन् । त्यस अघि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २२४ रनको योगफल खडा गरेको थियो ।
प्रकाशित मिति : बिहिबार, माघ २५, २०८० |
१५:४८:१३
6359





















