हत्यापछि टाउको बोकर हिँडेको अवस्थामा एक जना पक्राउ
चितवन, २३ असोज । उदयपुरमा श्रीमतीको हत्या गरेर टाउको बोकेर बजारमा हिँडिरहेका एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । उदयपुर प्रहरीका अनुसार त्रिवेणी नगरपालिका–६ जलजले बस्ने ३६ वर्षीय जङ्गबहादुर घिसिङलाई पक्राउ गरेको हो । मंगलबार साँझ साढे ६ बजेतिर उनले पत्नी २८ वर्षीया प्रमीला लामाको हत्या गरेका हुन् । हत्यापछि टाउको लिएर हिँडेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।
भारतबाट असोज १३ मा घर आएका जङ्गबहादुरले विवादपछि पत्नीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । प्रमीला त्रिवेणी नगरपालिका–६ जलजलेमा चिया व्यापार गर्थिन् । चिया बेचेर कोरियन भाषा पनि सिक्दै गरेकी उनका दुई छोरा ४ र १ कक्षामा पढ्छन् । दम्पतीको बिचमा करिब दुई वर्षदेखि राम्रो सम्बन्ध थिएन ।
सम्बन्ध सुधारेर सँगै बस्नेबारे छलफल हुँदा उनीहरूको बिचमा विवादपछि हत्या भएको थाहा भएको छ । हत्या गरेपछि उनले खुकुरीले टाउको काटेर बोकेर हिँडेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले करिब १ किलोमिटर परबाट पक्राउ गरेको हो ।
















