टी–२० विश्वकप छनोटमा नेपाल आज कुवेतसँग भिड्दै
चितवन, २२ आश्विन। टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोट प्रतियोगितामा आज नेपाली राष्ट्रिय क्रिकेट टोली कुवेतसँग भिड्दैछ।
यस प्रतियोगितामा नेपालसहित ९ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्। समूह ‘बी’ मा रहेको नेपालले कुवेतविरुद्ध आफ्नो पहिलो खेल बुधबार राति ८:४५ बजे खेल्नेछ। सो समूहमा नेपाल र कुवेतसँगै जापान पनि समावेश छ। नेपालले दोस्रो खेल शुक्रबार जापानसँग खेल्नेछ।
नेपाल र कुवेतबीच यसअघि भएका खेलहरूमा मिश्रित नतिजा देखिएको छ भने जापानसँग भने नेपाल पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो।
समूह ‘ए’ मा युएई, मलेसिया र कतार रहेका छन् भने समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र सामोआ छन्। युएईमा वेस्ट इन्डिजविरुद्धको सिरिज जित्दै र ओमानमा भएका दुई अभ्यास खेलमा विजयी बन्दै नेपाली टोली उच्च मनोबलका साथ छनोट प्रतियोगितामा उत्रिएको छ।
आगामी वर्ष भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्ने टी–२० विश्वकपमा २० देश सहभागी हुने छन्। हालसम्म १७ देशले विश्वकपको यात्रा सुनिश्चित गरिसकेका छन् भने एसिया क्षेत्रबाट बाँकी तीन टोली छनोट हुने छन्।
सिंगल राउन्ड रोबिन लिग प्रणालीमा हुने यस प्रतियोगितामा समूहका शीर्ष दुई टोली ‘सुपर सिक्स’ चरणमा प्रवेश गर्ने छन्। सुपर सिक्सका शीर्ष तीन टोलीले सन् २०२६ मा हुने आइसिसी टी–२० विश्वकपमा स्थान बनाउनेछन्।






















