आईसीसी विश्वकप लिग-२: आज नेपालसँग खेल्दै युएई
चितवन, १९ कार्तिक । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईमा जारी त्रिदेशीय शृङ्खलाको अन्तिम खेलमा आज नेपाल र युएई आमनेसामने हुँदै छन् । दुबई इन्टरनेशनल क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरु हुनेछ। हालसम्मको प्रदर्शनमा नेपालले तीनै खेलमा हार व्यहोरेको छ। पहिलो खेलमा अमेरिकासँग १०६ रनको स्पष्ट अन्तरले पराजित नेपाल दोस्रो खेलमा युएईसँग ५ विकेटले र तेस्रो खेलमा फेरि अमेरिकासँग ४ विकेटले हारिएको थियो।
अमेरिका, नेपाल र युएई सहभागी लिग–२ शृङ्खलामा अमेरिका लगातार जितसँगै शीर्ष स्थानमा छ, भने युएई सबैभन्दा पुछारमा रहेको छ। अमेरिकाले २४ खेलबाट ३६ अंक जोडेको छ। यता १९ खेल खेलेको युएईसँग ८ अंक मात्र छ भने समान १९ खेल खेलेको नेपालले १२ अंक बटुलेको छ।
शृङ्खलाको आयोजक युएईलाई आजको खेल जित्नैपर्ने दबाब छ भने नेपाल पनि लगातारको हारको श्रृंखला रोक्दै अंक जोड्ने लक्ष्यसहित मैदान उत्रनेछ।


























