होटलको कोठामा अचेत फेला परेका व्यक्तिको मृत्यु, एक जना पक्राउ
चितवन, ०४ असार । सुर्खेतको भेरीगंगा नगरपालिका–१२ सल्लिचोकस्थित एक होटलमा अचेत अवस्थामा फेला परेका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ। मृतक जाजरकोटको जुनीचाँदे गाउँपालिका–९ घर भई हाल भेरीगंगामा बसोबास गर्दै आएका अन्दाजी ३८/३९ वर्षीय लोकबहादुर डाँगी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
प्रहरीका अनुसार मंगलबार राति स्थानीय न्यू जाजरकोटी धर्मा शक्ति एन्ड लजको कोठा नम्बर ३ मा भेरीगंगा–१२ का ३० वर्षीय राकेश सुनार बसेका थिए। बुधबार बिहान करिब साढे ४ बजे राकेशले डाँगीलाई सोही कोठामा बोलाएका थिए।
बिहीबार साँझ करिब साढे ५ बजे होटल सञ्चालक मानबहादुर खड्काकी छोरी मंगला खड्काले कोठा जाँच गर्ने क्रममा डाँगीलाई अचेत अवस्थामा फेला पारेकी थिइन्। उनलाई तत्काल उद्धार गरी छिन्चुस्थित गणेश मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल, कालागाउँ लगिएको थियो। तर अस्पताल पुर्याएलगत्तै चिकित्सकले साँझ साढे ६ बजे मृत घोषणा गरेका थिए।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षक प्रकाश केसीको नेतृत्वमा टोली खटिएको थियो। प्रहरीले घटनालाई शङ्कास्पद मान्दै अनुसन्धानका लागि राकेश सुनारलाई पक्राउ गरेको छ। हाल उनलाई इलाका प्रहरी कार्यालय छिन्चुमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





















