राजधानीलाई पानी दिने सुन्दरीजलकै बासिन्दा खानेपानी अभावमा, वर्षौंदेखि समाधान हुन सकेन समस्या
चितवन, २८ आषाढ । काठमाडौं उपत्यकामा मेलम्चीको पानी प्रशोधन गरी वितरण हुने सुन्दरीजल क्षेत्रका स्थानीय नै वर्षौंदेखि नियमित खानेपानी सेवाबाट वञ्चित छन्। गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका धेरै बस्तीमा खानेपानी नपुग्दा स्थानीय ढुंगेधारा, कुवा र सार्वजनिक धारामा निर्भर रहन बाध्य छन्।
मुहान क्षेत्रका बासिन्दाले लामो समयदेखि समस्या समाधानको माग गर्दै आए पनि सुनुवाइ नभएको गुनासो गरेका छन्। प्रतिनिधिसभा सदस्य राजुनाथ पाण्डेले समेत समस्या समाधान नभए मेलम्चीको पानी राजधानीमा वितरण हुन नदिने चेतावनी दिएका थिए। शनिबार उनले सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा केयूकेएलका प्रतिनिधिसँग छलफल गर्दै स्थानीयलाई प्राथमिकताका साथ खानेपानी उपलब्ध गराउन निर्देशन दिएका छन्।
स्थानीयवासीले केही लिटर पानीका लागि घण्टौँ लाइन बस्नुपर्ने बाध्यता रहेको बताएका छन्। नगरपालिकाले पूर्वाधार निर्माण गरे पनि वितरण प्रणाली प्रभावकारी नहुँदा समस्या कायमै रहेको जनप्रतिनिधिहरूको भनाइ छ।
केयूकेएलका प्रबन्ध निर्देशक रामरतन साहले पुरानो पाइपलाइन अहिलेको जनघनत्व धान्न नसक्ने भएकाले नयाँ वितरण प्रणाली निर्माण गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। साथै, सुन्दरीजलको पुरानो पानी प्रशोधन केन्द्र प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा बौद्धलगायत क्षेत्रमा धमिलो पानी वितरण हुने गुनासो पनि स्थानीयले गरेका छन्।
























