नयाँ प्रणालीमार्फत आजदेखि राहदानी सेवा सुरु, अत्यावश्यक परे मात्र आवेदन दिन विभागको आग्रह
चितवन, २९ आषाढ । राहदानी विभागले आजदेखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत सेवा सञ्चालनमा ल्याएको छ। परराष्ट्र मन्त्रालयअन्तर्गतको विभागले करिब एक करोड नेपाली नागरिकको राहदानीसम्बन्धी विवरण सफलतापूर्वक नयाँ प्रणालीमा स्थानान्तरण गर्दै सेवा सुरु गरेको जनाएको छ।
विभागका अनुसार मुलुककै सबैभन्दा ठूलो डेटा माइग्रेसन सम्पन्न भएपछि सुरुआती चरणमा प्रणालीमा केही प्राविधिक समस्या, सुस्तता तथा राहदानी वितरणमा सामान्य ढिलाइ हुन सक्ने सम्भावना रहेको छ।
यस्ता चुनौती समाधानका लागि विभागका प्राविधिक टोली, कर्मचारी तथा प्रणाली विकास गर्ने कम्पनीका विशेषज्ञहरू चौबीसै घण्टा प्रणालीको अनुगमन, परीक्षण र सुधारमा खटिएको विभागले जनाएको छ।
नयाँ प्रणाली स्थिर र प्रभावकारी बनाउन सुरुआती चरणमा अत्यावश्यक परेका सेवाग्राहीले मात्र राहदानीका लागि आवेदन दिन विभागले अनुरोध गरेको छ। साथै, राहदानी सेवासम्बन्धी जानकारी विभाग वा परराष्ट्र मन्त्रालयका आधिकारिक माध्यमबाट प्रकाशित सूचनालाई मात्र आधार बनाउन पनि आग्रह गरिएको छ।






















