हेटौंडा कपडा उद्योग दुई महिनाभित्र परीक्षण उत्पादनमा जाने, सेनाले सुरु गर्यो मर्मत कार्य
चितवन, ३० आषाढ । लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्ने सरकारी योजनाअनुसार अब परीक्षण उत्पादनको तयारी तीव्र पारिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा गठित अध्ययन कार्यदलले उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने स्पष्ट कार्यदिशासहितको प्रतिवेदन मन्त्री गौरीकुमारी यादवलाई बुझाएको छ।
कार्यदलका अनुसार नेपाली सेनालाई आगामी दुई महिनाभित्र उद्योगबाट परीक्षण उत्पादन सुरु गर्ने जिम्मेवारी दिइएको छ। अर्थ मन्त्रालयले सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयको खातामा रु. ३३ लाख बजेट निकासा गरिसकेको छ भने सेनाको प्राविधिक टोलीले उद्योग परिसरमा सरसफाइ, कच्चा पदार्थ खरिद र मेसिन मर्मतको काम सुरु गरिसकेको छ।
उद्योगको भौतिक संरचना मर्मतका लागि पूर्वाधार विकास मन्त्रालयले रु. ५० लाखको लागत अनुमान पेस गरेको छ र आवश्यक मर्मतको जिम्मेवारी लिएको छ। उद्योगभित्रको विद्युत् प्रणाली मर्मतको काम पनि हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमार्फत सम्पन्न भइसकेको जनाइएको छ।
प्रतिवेदनमा तत्काल पुराना मेसिन मर्मत गरेर परीक्षण उत्पादन गरिने र त्यसको नतिजाका आधारमा उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार पारिने उल्लेख छ।
प्रतिवेदन बुझ्दै मन्त्री गौरीकुमारी यादवले हेटौंडा कपडा उद्योग पुनः सञ्चालनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै निर्धारित समयभित्र उत्पादन सुरु गर्न मन्त्रालयले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।



























