विश्वकप छनोट :आज नेपालले यूएईको सामना गर्दै
काठमाडौँ । फिफा विश्वकप २०२६ को दोस्रो चरण र एएफसी एसियन कप छनोटका लागि आज नेपालले यूएईको सामना गर्दैछ । आज यूएईको घरेलु मैदानमा हुने खेल राति साढे ९ बजे सुरु हुनेछ। समू एचमा रहेको नेपालले यूएईसँग खेल्दै दोस्रो चरण छनोटको सुरुवात गर्दैछ । फिफा वरियतामा यूएई ६९ र नेपाल १ सय ७३ औं स्थानमा छ। यसअघि विश्वकप छनोट खेलेको टोलीबाट आजको खेलमा तीन खेलाडी मात्र छन्।
नेपाली टोलीका गोलरक्षक तथा कप्तान किरण कुमार लिम्बु, डिफेन्डर रोहित चन्द र फरवार्ड अञ्जन विष्ट यूएईविरुद्धको खेलमा छन् । टोलीका अर्का डिफेन्डर अनन्त तामाङ भने प्रशिक्षणमा घाइते भएपछि यूएईविरुद्धको टोलीबाट बाहिर छन् । विश्वकप छनोटको पहिलो चरणको दोस्रो लेगमा लाओसलाई पराजित गर्दै नेपालले दोस्रो चरणमा स्थान पक्का गरेको थियो । नेपाल रहेको समूह एचमा यूएईसँगै बहराइन र यमन छन्। होम एण्ड अवेका आधारमा हुने खेलमा नेपालले सबै टोलीसँग समान २ खेल खेल्नेछ । समूहको शीर्ष २ मा रहने टोली विश्वकप छनोटको तेस्रो चरणमा प्रवेश गदा एएफसी एसियन कपमा समेत छनोट हुनेछन् ।