महिला टी-२० मा नेपालको लगातार दोस्रो हार
हङकङ । चार देश सम्मिलित महिला टी–२० आई सिरिजमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । बिहीबार भएको आफ्नो दोस्रो खेलमा नेपाल घरेलु टोली हङकङसँग ९ विकेटले पराजित भएको हो । सिरिजमा लगातार दोस्रो हार व्यहोरेसँगै नेपालको फाइनल खेल्ने सम्भावना सकिएको छ। नेपाल पहिलो खेलमा तान्जानियासँग २७ रनले पराजित भएको थियो । उता हङकङले भने सिरिजमा लगातार दोस्रो जित निकालेको हो । नेपालले दिएको ५७ रनको सामान्य लक्ष्य हङकङले ९ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो । ओपनर नतासा माइल ३० र सन्जिन शहजाद २० रनमा नटआउट रहे । ओपनर मारिको हिल ५ रन बनाउँदा रन आउट भईन ।
त्यसअघि वाङ नाइमा टस जितेर ब्याटिङ गरेको नेपाल १८ ओभरमा ५६ रनमा अल आउट भयो । नेपालका लागि रुबिना क्षेत्री वेलवासेले सर्वाधिक २५ रन बनाईन । रुविनाले ३० बलमा ४ चौका प्रहार गर्दा बोल्ड आउट भईन । सीता रानामगर क्याच आउट भईन । हङकङविरुद्ध खराब ब्याटिङ गरेको नेपालका लागि रुविना बाहेक अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन । नेपाललाई कम स्कोरमा रोक्न हङकङकी इकार सहारले ३ विकेट लिइन्। रुचिथा वेंकटेशले २ विकेट लिईन । मारिको हिल र केरि चानले समान एक विकेट लिए ।
हङकङविरुद्धको खेलमा विकेटकिपर कन्चन श्रेष्ठले डेब्यु गरेकी छिन । बागमती प्रदेशबाट घरेलु प्रतियोगिता खेल्दै आएकी कञ्चनले ओपनिङ र मध्यक्रम दुबैमा ब्याटिङ गर्दै आएकी छिन । हङकङमा जारी महिला टी २० आई सिरिजमा घरेलु टोलीसँगै नेपाल, जापान र तान्जानिया छन । नेपालले समुह चरणको अन्तिम खेलमा शनिबार जापानसँग खेल्ने तालिका छ । समुहका शीर्ष २ टोलीले उपाधिका लागि आइतबार आमनेसामने हुनेछन्। सोही दिन पुछारका दुई टोली तेस्रो स्थानका लागि खेल्नेछन ।