बझाङबाट ९१ किलो गाँजासहित तीन जना पक्राउ
बझाङ । बझाङबाट गाँजा र गाँजा बनाउन प्रयोग हुने कच्चा पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ । खप्तड छान्ना गाउँपालिका ७ गोर्खालीबाट गाँजा, गाँजा बनाउन प्रयोग हुने कच्चा पदार्थ र गाँजा बनाउन प्रयोग हुने भाँडाकुँडासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । गोर्खाली गाउँका स्थानीय खडकबहादुर खड्काको घरमा लागूऔषधको कारोबार भइरहेको सूचनाको आधारमा खानतलासी गर्दा तयारी गाँजा १४ किलो २१० ग्राम, गाँजाको दाना र पातसहितको कच्चा पदार्थ ७७ किलो ३०५ ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा खड्कासहित गोरखाको अजिरकोट गाउँपालिका–२ खरिबोटका ३८ वर्षीय सन्तोष गुरुङ र पर्साको सुकौली पटौली गाउँपालिका–३ का ५५ वर्षीया राम गुरुङ रहेको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भरत शाहले जानकारी दिए । उनीहरुको साथबाट गाँजा बनाउने काममा प्रयोग हुने प्लाष्टिकका बाटा ५ वटा, डिजिटल तराजु, कैंचीं, ब्लेड, कार्टुनटेप, रबरका पोका, गाँजा छान्न प्रयोग गरिने कपडा र प्याकिङ गर्न प्रयोग हुने प्लाष्टिक समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ ।