बहिनीको बलात्कार घटना बाहिर ल्याउँदा दाजुको हत्या, बाबु पक्राउ
सुर्खेत । बहिनीको बलात्कार भएको घटना बाहिर ल्याउँदा दाजुको हत्या भएपछि प्रहरीले बाबुलाई पक्राउ गरेको छ । प्रहरीले आज बिहान १० बजे टिकापुरबाट उनलाई पक्राउ गरेको हो । उनीमाथि १८ वर्षीय छोराको बन्चरो प्रहार गरी हत्या र आफ्नै छोरीलाई बलात्कार गरेको आरोप छ । उनलाई टिकापुर कैलालीबाट सुर्खेत ल्याउन लागेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता, प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले बताए । बहिनीलाई बलात्कार गरेको आरोपमा दाइले बुबाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कात्तिक १५ गते जबरजस्ती करणीको जाहेरी दर्ता गराएका थिए ।
अनुसन्धानको क्रममा घटनामा उनकै बुबा संलग्न रहेको प्रमाणहरू फेला परेका थिए भने उनकी बहिनीले पनि दाजुको हत्या बुबाले नै गरेको बताएको प्रहरीले जनाएको छ । कातिक १५ गते प्रहरीमा परेको जाहेरीमा मृतककी बहिनीमाथि बुबाले बलात्कार गरेको विषय उल्लेख छ । भारतमा काम गरिरहेका बुबाले घरमा आई मामा घरमा रहेकी छोरीलाई बोलाई बलात्कार गरेको जाहेरीमा उल्लेख छ । बहिनीले दाइलाई भनेपछि दाइले प्रहरीमा जाहेरी दिएका थिए । आफूविरुद्ध जाहेरी दिएको भन्दै रिस साँध्न बाबुले नै छोराको हत्या गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ ।
बलात्कारको जाहेरी दिने छोराको हत्या गरिएपछि हत्याको कसुरमा अर्को छोरा तथा मृतकका भाइले बाबु विरुद्ध जाहेरी दिएका छन् । जाहेरी परेपछि बाबु भारत भागेका थिए। उनी केही दिनअघि नेपाल फर्केको भन्ने सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गरी घटनाबारे अनुसन्धान अघि बढाएको हो ।