५ करोड फिरौती माग्दै ज्यान मार्ने धम्की दिने २ जना पक्राउ
प्रकाशित मिति: बिहिबार, माघ २५, २०८० | १३:२७:००
काठमाडौं । पोखरामा पाँच करोड रुपैयाँ फिरौती नदिए ज्यान मार्ने धम्की दिएको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका–२, खुर्कोटका लक्ष्मण दर्जी र कुश्मा–१४, आर्थरका दीपकबहादुर क्षेत्री छन् । बुधबार साँझ पक्राउ परेका उनीहरुलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको हो । कास्की प्रहरीका अनुसार, उनीहरूले सच्चाई सेवा केन्द्रका सञ्चालक प्रकाशदीप गैह्रेसँग पाँच करोड रुपैयाँ फिरौती मागेका थिए ।
पक्राउ परेका २ जनाले फोन तथा म्यासेजमा हिन्दी भाषामा कुराकानी गरेर फिरौती माग्ने र नदिए ज्यान मार्ने धम्की दिने गरेकाे कास्की प्रहरीका प्रमुख मोहन थापाले जानकारी दिए । दर्जी वैदेशिक रोजगारका क्रममा चार वर्षदेखि कतारमा थिए । उनी नेपाल आएको एक महिना मात्र भएको प्रहरीले जनाएको छ । क्षेत्री भने बेरोजगार हुन् ।
प्रकाशित मिति : बिहिबार, माघ २५, २०८० |
१३:२७:००
2971