नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित
काठमाडौं । त्रिकोणात्मक टी-२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपाल २ रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रन मात्र बनायो । नेपालका लागि कप्तान रोहित पौडेल र दिपेन्द्र सिंह ऐरीले अर्धशतक बनाए । कप्तान रोहितले ३६ बलमा ५० रन बनाएर आउट भएका थिए भने २८ बलमा अर्धशतक पुरा गरेका दिपेन्द्र ६३ रन बनाएर आउट भएका थिए । त्यसैगरी आसिफ सेखले ३४ रन बनाए भने कुशल मल्लले ११ र करण केसीले ११ रन बनाएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्याण्डसले २० ओभरमा ४ विकेट गुमाएर १८४ रन बनाएको थियो । नेदरल्याण्डसका लागि माइकल लेभिटले ५४ रन बनाएका थिए । लेभिटले यसै खेलमा आफ्नो टी-२० अन्तराष्ट्रिय डेभ्यु गर्दै अर्धशतकीय पारी खेलेका हुन् । त्यस्तै सिब्राण्ड एंगेलब्रेचटले अविजित ४९ रन बनाए भने कप्तान स्कट एडवार्ड्सले ३३ रन बनाए भने तेजा निदामनुरुले ३१ रन बनाएका थिए ।
त्यसैगरी नेपाली बलर करण केसी र कुशल मल्लले एक एक विकेट लिएका थिए । नेपालले २ विकेट रनआउटको रुपमा लिएको थियो । जारी सिरिजमा नेपालको यो दोस्रो हार हो । यसअघि पहिलो खेलमा नामिबियासँग २० रनले हारेको थियो । अब अर्को खेल विहिबार नामिबिया र नेदरल्याण्डससँग हुने छ ।