नेपालले अमेरिका र क्यानडासँग टी-२० अभ्यास खेल खेल्ने
चितवन, ०४ जेठ । नेपालले आईसीसी टी-२० विश्वकप वार्मअप खेल अमेरिका र क्यानडासँग खेल्ने भएको छ । विश्वकप अघि आईसीसीले प्रदान गर्ने दुई वार्मअप (अभ्यास) खेल तय भएका हुन् । नेपालले २७ मेमा क्यानडा र ३० मेमा अमेरिकासँग डालासमा वार्मअप खेल खेल्नेछ । नेपालले दुवै खेल टेक्सास स्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा खेल्नेछ । नेपालले २७ मेमा क्यानडाविरुद्ध खेल्नेछ भने ३० मेमा अमेरिकाको सामना गर्नेछ । नेपालले सोही मैदानमा नेदरल्याण्ड्सविरुद्ध विश्वकप अन्तर्गतको खेल समेत खेल्दैछ ।
आईसीसी टी-२० विश्वकप क्रिकेट आगामी जुन १ देखि २९ सम्म वेष्टइण्डिज र अमेरिकामा आयोजना हुँदैछ । टी-२० विश्वकपमा नेपालसहित २० टोली सहभागी छन् । चार समूहमा ५-५ टोली छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर-८ मा पुग्नेछन् । सुपर ८ मा दुई समूह हुनेछन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् । समूह डी मा नेपाल, बंगलादेश, नेदरल्याण्ड्स, दक्षिण अफ्रिका र श्रीलंका छन् । नेपालले ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्दै सुरुवात गर्नेछ ।