सिंहदरबार दक्षिणी गेटबाट फणिन्द्र नेपाल पक्राउ
चितवन, २२ पौष । ग्रेटर नेपालका संस्थापक फणिन्द्र नेपाललाई प्रहरीले पक्राउ गरेको छ । सिंहदरबार दक्षिणी गेटमा धर्ना बस्ने क्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । फणिन्द्रलाई नियन्त्रणमा लिएर सिंहदरबार प्रहरी वृत्त पुर्याइएको प्रहरीले जनाएको छ ।
सोमबार १२ बजेदेखि ४ बजेसम्म आफू सिंहदरबारको दक्षिणी गेटमा धर्ना बस्न जान लागेको नेपालले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका थिए ।
उनले फेसबुकमा लेखेका छन्, ‘लिपुलेकको नेपाली सार्वभौमसत्तामाथि इन्डियाली ज्यादती देखेर पनि केही नभएजस्तो गर्ने र चीन र इन्डियाले लिपुलेक प्रयोग गर्ने सहमति गर्दा त्यो चीन र इन्डियाबीचको प्राविधिक कुरा हो भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिने सरकारको विरोध नगर्ने हो भने सरकार झन्-झन् मौन रहनेछ, इन्डियाको दास बन्दै जानेछ र नेपाली भूमिको रक्षा गर्न थप असमर्थ हुनेछ । त्यसैले सरकारलाई राष्ट्रियताका पक्षमा बोल्न बाध्य पार्न पनि नागरिक तहबाट सरकारको विरोध नगरी हुँदैन । यही प्रयोजनका निम्ति ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा आज मध्यान्ह १२:०० बजेदेखि ४:०० बजेसम्म सिंहदरबारको दक्षिणी ढोकामा धर्नामा बस्दै छ ।’