अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
चितवन, ०१ चैत । प्रहरीले लागुऔषधसहित देशका विभिन्न स्थानबाट दुई जनालाई पक्राउ गरेको छ । कैलाली टीकापुर नगरपालिका-९ खक्रौलाबाट नियन्त्रित लागुऔषध स्पास्पेन २४० ट्याब्लेटसहित सोही नगरपालिका-१ नयाँ टीकापुर बस्ने १९ वर्षीय पवन नेपालीसहित दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे८प २५०९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो । झापा, दमक नगरपालिका-१ फाल्गुनन्द चोकबाट अवैध लागुऔषध खैरो हेरोइन पाँच सय मिलिग्राम, नियन्त्रित लागुऔषध ट्रामाडोल ९० ट्याब्लेट र स्पास्पेन ७० ट्याब्लेटसहित सोही ठाउँ डेरा गरी बस्ने २६ वर्षीय डेकबहादुर थापासहित पाँच जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले डेकबहादुरको कोठा तलासी गर्दा उक्त लागुऔषध फेला पारी उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । चितवन, कालिका नगरपालिका-८ मझुवाबाट अवैध लागुऔषध गाँजा करिब २ सय ५० ग्राम र नियन्त्रित लागुऔषध ट्रामाडोल ४० ट्याब्लेटसहित तीन जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका-१० बस्ने ३३ वर्षीय सोम बहादुर गुरूङ, कालिका नगरपालिका-९ बस्ने ३० वर्षीय लगेन्द्र चेपाङ र २८ वर्षीय राजेश चेपाङ रहेका छन् । प्रहरी चौकी जुटपानीबाट खटिएको प्रहरीले बा.प्र.०६-००१ ह ००४६ नम्बरको अटोमा सवार उनीहरूलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।
बाँके, नेपालगञ्ज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागुऔषध चरेश २४४ ग्रामसहित रूकुम पश्चिम आठबिसकोट नगरपालिका-१ बस्ने ४३ वर्षीय कबिराम बुढालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ पैदल जाँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।