अनलाइनबाट ठगी गरेको आरोपमा ७ जना पक्राउ
चितवन, २५ वैशाख । अनलाइन माध्यमबाट साढे दुई करोडभन्दा बढी ठगी गरेको अरोपमा धनुषा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।
धनुषाका प्रहरीका अनुसार धनुषाको धनुषाधाम नगरपालिका–१ का २३ वर्षिय सुरज साह, क्षीरेश्वरनाथ नगरपालिका–२ का २२ वर्षीय श्यामसुन्दर महरा र क्षीरेश्वरनाथ –१ का २० वर्षीय रामकुमार महरालाई पक्राउ गरेको हो ।
यस्तै महोत्तरीको गौशाला नगरपालिका–१ का २२ वर्षीय रोशन साह, २१ वर्षीय सुधीरकुमार महतो, गौशाला–२ का १९ वर्षीय अमित साह र सर्लाहीको बरहथवा नगरपालिका–७ का २२ वर्षीय नितेशकुमार छन् ।
उनीहरूलाई बिहीबार धनुषा प्रहरीले सार्वजनिक गरेको छ । सामाजिक सञ्जालमार्फत फेक एकाउन्ट बनाएर ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो । अनलाइनमाध्यमबाट विभिन्न किसिमको मोबाइल तथा लत्ता कपडा लगायत सामानहरू सस्तोमा दिने भनी इन्सटाग्राम, टिकटक, फेसबुक, ह्वाट्सप लगायत सामाजिक सञ्जालमा एकाउन्ट पेज प्रयोग गरी प्रलोभन देखाएर ठगी गर्दै आएको प्रहरीले जनाएको छ ।