कलाकार व्यस्तताले ‘डबल ट्रिपल’ फागुन १ मा रिलिज नहुने
चितवन, ०१ भाद्र । निर्देशक अशोक शर्माले गत फागुनमा आफ्नो नयाँ फिल्म ‘डबल ट्रिपल’को निर्माण घोषणा गर्दै यस वर्षको दशैंको फूलपातीलाई प्रदर्शन मिति तय गरेका थिए । तर, फूलपातीमा अरू तीन फिल्म पनि आउने भएपछि उनले उक्त मिति छाड्दै फागुन १ गतेलाई नयाँ प्रदर्शन मिति घोषणा गरे । अब यो मितिबाट पनि फिल्म पछि हट्ने भएको छ । किनकि, फिल्मको छायांकन धकेलिएको छ ।
निर्देशक शर्मा यही भदौ ५ गतेबाट छायांकन सुरु गर्ने तयारीमा थिए । त्यसका लागि फिल्मका मुख्य अभिनेता दयाहाङ राई पनि तयार थिए । तर, त्यो मितिमा अर्का अभिनेता खगेन्द्र लामिछानेले नभ्याउने भएका छन् । किनकि, यतिबेला उनी ‘क्याप्टेन साब’को छायांकनमा व्यस्त छन् । यो फिल्म सकिन अझै २०–२५ दिन लाग्ने भएपछि ‘डबल ट्रिपल’को छायांकन माघअघि नहुने भएको छ ।
खगेन्द्रले भदौभर ‘क्याप्टेन साब’कै छायांकन गर्नेछन् । जब उनको फुर्सद हुनेछ, तब दयाहाङले ‘कबड्डी ५’को छायांकन सुरु गरिसकेका हुनेछन् । यसपछि उनले ‘मितज्यू’ र ‘पेन्सनपट्टा’मा काम गर्नेछन् । यसैले दयाहाङले माघअघि ‘डबल ट्रिपल’मा काम गर्न नभ्याउने जानकारी निर्देशक शर्मालाई गराइसकेको बताइन्छ । माघतिर छायांकन हुने भएपछि फागुन १ गते फिल्म प्रदर्शन हुने कुरै भएन ।
फिल्मको छायांकन नहुँदै प्रदर्शन मिति घोषणा गर्ने हतारोले निर्देशक शर्मा पटक-पटक रिलिज सार्न बाध्य भइरहेका छन् । त्यसो त नेपाली निर्माताको यो नियति नै बनिसक्यो । प्रायः फिल्मको स्क्रिप्ट तयार नहुँदै प्रदर्शन मिति घोषणा गरिन्छ । जब फिल्मको काम समयमा सकिँदैन, तब बिरालोले बच्चा सारेझैँ प्रदर्शन मिति सारिन्छ । अब ‘डबल ट्रिपल’ सरेर कहाँ पुग्छ, त्यो हेर्न बाँकी छ ।


















