नेप्से लगातार पाँच दिन उकालो, साताभरि सूचक २६७६.०३ विन्दुमा
चितवन, १२ मंसिर । यस साता धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक पाँचै दिन निरन्तर उकालो लाग्दै साताभरि चार दशमलवभन्दा बढीले बढेर २,६७६.०३ विन्दुमा पुगेको छ। आइतबारदेखि बिहीबारसम्म कुल ६ करोड २९ लाख ९९ हजार ६०४ कित्ता शेयर रु ३२ अर्ब १७ करोड १३ लाख ३६ हजार १८९ बराबरमा कारोबार भयो। मङ्गलबारबाहेक सबै दिन कारोबार रकम रु ६ अर्बभन्दा बढी नै रह्यो।
आइतबार नेप्से ३९.९२ अंक उक्लँदै २,६००.२२ विन्दुमा पुगेको थियो। सो दिन सामूहिक लगानी समूह बाहेक अधिकांश उपसूचक बढेका थिए। सागर डिस्टिलरी, बन्दीपुर केबलकार र झापा इनर्जीको शेयरमा सकारात्मक सर्किट लाग्दा पिपुल्स हाइड्रोपावर कम्पनी ७.५६ प्रतिशतले घटेर धेरै गुमाउने समूहमा प¥यो।
सोमबार पनि बजार उत्साहपूर्ण रह्यो। नेप्से ५०.४४ अंकले बढेर २,६५०.६६ विन्दुमा पुगेको थियो। नेपाल लाइफ इन्स्योरेन्स रु २४ करोडभन्दा बढी कारोबारसहित सबैभन्दा अगाडि रह्यो। झापा इनर्जी फेरि १० प्रतिशतले बढेर सर्किटमा पुग्दा सागर डिस्टिलरी, बन्दीपुर केबलकार, स्वस्तिक लघुवित्त र श्रीनगर एग्रोटेक इन्डस्ट्रीका लगानीकर्ताले नौ प्रतिशतभन्दा बढी लाभ कमाए। मविलुङ इनर्जी ४.४४ प्रतिशतले घट्यो।
मङ्गलबार नेप्से ५.३२ अंकले बढेर २,६५५.९९ विन्दुमा पुगेको थियो। होटल तथा पर्यटन समूहले १.४१ प्रतिशतले अगुवाइ गर्यो भने विकास बैंक, जीवन बीमा, सामूहिक लगानी तथा व्यापार समूहका उपसूचक भने घटे। त्यस दिन कारोबार रु ५ अर्ब ७७ करोडमा सीमित थियो।
तेस्रो कारोबार दिन बन्दीपुर केबलकार रु २६ करोडभन्दा बढीको कारोबारसहित अग्रस्थानमा रह्यो। झापा इनर्जीमा पुनः १० प्रतिशतको वृद्धि देखिँदा सागर डिस्टिलरी र श्रीनगर एग्रोटेकका लगानीकर्ताले पनि नौ प्रतिशतभन्दा बढी कमाइ गरे। जोशी हाइड्रोपावर ४.९६ प्रतिशतले घट्यो।
बुधबार पनि बजार सकारात्मक रह्यो। नेप्से ९.६१ अंक बढेर २,६६५.६० विन्दुमा पुगेको थियो। सो दिन वित्त, लगानी तथा बीमा समूहका केही उपसूचक घटे पनि होटल तथा पर्यटन समूहले ०.९९ प्रतिशतले वृद्धि दर्ज गर्यो। एनआरएन इन्फ्रास्ट्रक्चर रु ६२ करोडभन्दा बढीको कारोबारसहित शीर्ष स्थानमा रह्यो, झापा इनर्जी भने १० प्रतिशत सर्किटमा पुग्यो।
साताको अन्तिम दिन बिहीबार नेप्से फेरि १०.४३ अंकले बढेर २,६७८.०३ विन्दुमा पुगेको थियो। सागर डिस्टिलरी १० प्रतिशतले बढेर सर्किटमा रह्यो। स्वस्तिक लघुवित्त, श्रीनगर एग्रोटेक, झापा इनर्जी र एनआरएन इन्फ्रास्ट्रक्चरका लगानीकर्ताले नौ प्रतिशतभन्दा बढी लाभ कमाए। हिमस्टार ऊर्जा कम्पनी भने दिनकै धेरै घट्ने कम्पनी बन्यो। बैङ्किङ समूहको उपसूचक १.४९ प्रतिशतले उकालो लाग्दै सबैभन्दा बढी बढेको देखियो।
बजार निरन्तर उकालो लागिरहेका बेला आगामी मौद्रिक नीतिको समीक्षाले नेप्सेको गतिमा प्रभाव पार्ने विश्लेषकहरूको भनाइ छ। हाल ब्याजदर न्यून र तरलता पर्याप्त भए पनि कर्जा विस्तार ढिलो बढिरहेको छ। लगानीकर्ताको मनोभाव मिश्रित देखिए पनि नियामक संस्थाबाट स्पष्टता, पुँजीबजारमैत्री प्रावधान तथा स्थिर राजनीतिक वातावरणले बजारमा सकारात्मक ऊर्जा थप्ने विशेषज्ञहरूको अनुमान छ।














