उद्योगमन्त्री यादव र अष्ट्रेलियन राजदूतबीच भेट, व्यापार र लगानी सहकार्य विस्तारमा जोड
चितवन, ३० आषाढ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र नेपालका लागि अष्ट्रेलियन राजदूत साइमन अर्न्स्टबीच मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।
भेटवार्तामा नेपाल–अष्ट्रेलिया द्विपक्षीय सम्बन्ध, व्यापार, लगानी तथा आर्थिक सहकार्यलाई थप विस्तार गर्ने विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ।
राजदूत साइमन अर्न्स्टले मन्त्री यादवलाई सफल कार्यकालको शुभकामना दिँदै अष्ट्रेलियन सरकार नेपाल सरकारसँग सहकार्य गर्दै अघि बढ्न इच्छुक रहेको बताए। छलफलका क्रममा दुई देशबीचको आयात–निर्यातको अवस्थाको समीक्षा गर्दै व्यापारलाई थप सन्तुलित र प्रभावकारी बनाउने विषयमा पनि विचार आदान–प्रदान भएको थियो।
यस्तै, अष्ट्रेलियामा रहेका नेपाली समुदाय (डायस्पोरा) मार्फत व्यापार, पर्यटन र लगानी प्रवर्द्धनका सम्भावनाबारे पनि सकारात्मक छलफल भएको थियो।
मन्त्री यादवले नेपालको विकासमा अष्ट्रेलियाले पुर्याउँदै आएको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा दुई देशबीचको आर्थिक तथा व्यापारिक सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरिन्।













