लेबलविहीन र नक्कली जुत्ता–चप्पल बिक्री नगर्न विभागको चेतावनी
चितवन, ०२ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा लेबलविहीन, नक्कली, कम गुणस्तरका तथा चोरी पैठारी गरिएका जुत्ता–चप्पललगायत फुटवेयरको बिक्री–वितरण नगर्न सम्बन्धित व्यवसायीलाई चेतावनी दिएको छ।
शुक्रबार सूचना जारी गर्दै विभागले उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता तथा बिक्रेतालाई प्रचलित कानुनले तोकेका दायित्व र सर्तहरूको पूर्ण पालना गर्दै उद्योग–व्यवसाय सञ्चालन गर्न आग्रह गरेको हो।
विभागका अनुसार यस्ता अवैध तथा गुणस्तरहीन फुटवेयर भौतिक पसलका साथै विभिन्न डिजिटल प्लेटफर्ममार्फत बिक्री भइरहेको भन्दै विभिन्न माध्यमबाट उजुरी र गुनासो प्राप्त भएका छन्।
विभागले प्रचलित कानुनविपरीत लेबलविहीन, नक्कली वा चोरी पैठारीका फुटवेयर उत्पादन तथा बिक्री–वितरण गरेको पाइएमा कानुनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ।



















