शुक्लाफाँटा निकुञ्जमा हराएका च्याउ टिप्न गएका महिलाहरू सबै सकुशल सम्पर्कमा
चितवन, ०४ साउन । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका र सम्पर्कविहीन भएका महिलाहरू सकुशल फेला परेका छन्।
भीमदत्त नगरपालिका–१९ बागफाँटाका महिलाहरू खोजी अभियानपछि परिवारको सम्पर्कमा आएका हुन्। उनीहरू आइतबारदेखि सम्पर्कविहीन थिए।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेका अनुसार सबै सुरक्षा संयन्त्र परिचालन गरी निकुञ्जभित्र व्यापक खोजी अभियान सञ्चालन गरिएको थियो। खोजीकै क्रममा महिलाहरू परिवारको सम्पर्कमा आएको र सबै सुरक्षित रहेको जानकारी प्राप्त भएको उनले बताए।
यसअघि आइतबार साँझदेखि हराइरहेका बेल्डाडी गाउँपालिका–२ का तीन जना महिलालाई सहसेनानी सुमन जिसीको नेतृत्वमा खटिएको नेपाली सेनाको टोलीले सकुशल उद्धार गरेको थियो। उनीहरूलाई सोमबार बिहान परिवारको जिम्मा लगाइएको छ।
निकुञ्जभित्र अवैध रूपमा च्याउ टिप्न गएका तीन समूहका महिलाहरू सम्पर्कविहीन भएपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा निकुञ्ज प्रशासनले संयुक्त रूपमा खोजी अभियान सञ्चालन गरेका थिए।



















