जलवायु–स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य : मन्त्री गीता चौधरी
चितवन, ०४ साउन । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपालमा जलवायु–स्मार्ट कृषि विस्तार तथा कृषि क्षेत्रको दिगो विकासका लागि अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य रहेको बताएकी छन्।
नेपाल कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजनाको प्रारम्भ कार्यशालालाई सम्बोधन गर्दै मन्त्री चौधरीले कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायीकरण र जलवायु–स्मार्ट प्रविधिमार्फत रूपान्तरण गर्नु सरकारको प्रमुख लक्ष्य रहेको उल्लेख गरिन्।
उनले उक्त लक्ष्य हासिल गर्न चीन सरकार, चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेशन एजेन्सी (सिडका), संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) तथा अन्य विकास साझेदारहरूको सहयोग आवश्यक रहेको बताइन्। अन्तर्राष्ट्रिय सहकार्यबाट आधुनिक कृषि पूर्वाधार निर्माण, उत्पादन वृद्धि, खाद्य सम्प्रभुता सुदृढीकरण तथा दिगो मूल्य शृङ्खला विकासमा टेवा पुग्ने उनको विश्वास छ।
मन्त्री चौधरीले आधुनिक कृषि परीक्षण प्रयोगशालाको निर्माण र विस्तारलाई पनि सरकारले प्राथमिकतामा राखेको जानकारी दिइन्। कृषि नेपालको अर्थतन्त्रको मेरुदण्ड मात्र नभई अधिकांश नागरिकको जीविकोपार्जन, संस्कृति र पहिचानसँग जोडिएको क्षेत्र भएको उल्लेख गर्दै उनले हाल कृषि क्षेत्रमा न्यून उत्पादकत्व, जलवायु परिवर्तनका बढ्दा असर, प्राकृतिक विपद्, कृषिमा आश्रित युवाको वैदेशिक पलायन तथा आधुनिक प्रविधि र बजारसम्म सीमित पहुँचजस्ता चुनौती रहेको बताइन्।
उनका अनुसार जलवायु–स्मार्ट कृषि अभ्यासको प्रवर्द्धन, पोषण सुधार, बजार पहुँच विस्तार र स्थानीय संस्थागत क्षमता अभिवृद्धिमार्फत नेपाल कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजनाले देशको कृषि तथा खाद्य प्रणालीलाई थप सक्षम, प्रतिस्पर्धी र दिगो बनाउन महत्त्वपूर्ण योगदान पुर्याउनेछ।
मन्त्री चौधरीले चीन सरकार, सिडका र एफएओको सहयोगमा सुरु भएको उक्त परियोजना सरकारको कृषि आधुनिकीकरण, व्यवसायीकरण तथा दिगो विकाससम्बन्धी राष्ट्रिय प्राथमिकतासँग प्रत्यक्ष रूपमा जोडिएको पनि स्पष्ट पारिन्।



















