लेबलविहीन, मिसावटयुक्त र अवैध सामान बेच्नेलाई कडा कारबाही गरिने सरकारको चेतावनी
चितवन, ०४ साउन । सरकारले बजारमा लेबलविहीन, न्यून गुणस्तरका, मिसावटयुक्त तथा चोरी पैठारी गरिएका वस्तुको बिक्री–वितरण बढ्दै गएको भन्दै यस्ता गैरकानुनी गतिविधिमा संलग्न व्यवसायीमाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालु आर्थिक वर्ष २०८३/८४ को सूचना नं. ०३/०८३–८४ जारी गर्दै गैरकानुनी व्यापारिक गतिविधि नियन्त्रणलाई प्राथमिकतामा राखिएको जनाएको हो।
विभागका अनुसार भौतिक बजारसँगै डिजिटल (अनलाइन) प्लेटफर्ममार्फत पनि दैनिक उपभोग्य खाद्यवस्तु, पेय पदार्थ, लत्ताकपडा लगायतका सामान अवैध रूपमा बिक्री भइरहेको भन्ने उजुरी र जनगुनासो बढ्दै गएपछि सरकार गम्भीर बनेको हो।
जारी सूचनामा उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम उपभोक्ताले गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित गरिएको स्मरण गराउँदै मिसावट, चोरी पैठारी तथा कम गुणस्तरका वस्तुको उत्पादन, बिक्री वा वितरण कानुनअनुसार दण्डनीय अपराध भएको उल्लेख गरिएको छ।
मन्त्रालयले बजार स्वच्छता कायम गर्ने नीतिअनुसार उत्पादन, आयात, ढुवानी, भण्डारण तथा बिक्री–वितरणमा संलग्न सबै व्यवसायीलाई कानुनले तोकेका मापदण्ड, सर्त र दायित्वको पूर्ण पालना गर्न निर्देशन दिएको छ।
साथै, विभागले बजार अनुगमनलाई अझ प्रभावकारी बनाइने र उपभोक्ताको स्वास्थ्य तथा अधिकारमाथि खेलबाड गर्ने जोसुकै व्यवसायीलाई पनि प्रचलित कानुनबमोजिम हदैसम्मको कडा कारबाही गरिने चेतावनी दिएको छ।



















