भरतपुर र रत्ननगरमा पेट्रोल पम्प खोल्न निगमको प्रस्ताव
चितवन,२६ कात्तिक ।
नेपाल आयल निगमले भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकामा पेट्रोल पम्प खोल्न प्रस्ताव गरेको छ । भरतपुर र रत्ननगरले आवश्यक जग्गा लिजमा उपलब्ध गराए निगमले आफ्नै लगानीमा पेट्रोल पम्प खोल्ने योजना बनाएको हो ।
‘पेट्रोल पम्प सञ्चालन गर्न के कस्तो सम्भावना छ, त्यो हेर्नका लागि केहि दिनमा नै सम्बन्धित पालिकामा पुग्छौँ’, नेपाल आयल निगमको २ नंम्बर प्रादेशिक कार्यालयका लेखा अधिकृत चतुरमान लोप्चनले भने । चितवनको भरतपुर र रत्ननगर सहित १६ पालिकामा पेट्रोल पम्पको सम्भावना अध्ययन गर्न निगमले प्रादेशिक कार्यालयलाई जिम्मा दिएको हो ।
तिहारपछि पेट्रोल पम्प सञ्चालन गर्ने विषयमा सम्बन्धित पालिकामा गएर राय लिने उनले बताए । ‘आवश्यकता छ छैन हेर्छाैँ र उपयुक्त ठाउँ फेला परे त्यहि अनुसार प्रतिवेदन माथि पठाउँछौँ’, उनले भने । निगमले बनाउने पेट्रोल पम्प नमुना हुने उनको भनाइ छ ।
पेट्रोलियम पदार्थ आयात गरेर बिक्री गर्दै आएको निगमले चितवनका दुई पालिका सहित ५८ वटा पालिकामा आफ्नै लगानीमा पम्प सञ्चालन गर्न लागेको हो । पेट्रोल पम्प सञ्चालन गर्न पालिकाहरुसँग कम्तिमा ३० बर्षको लागि जग्गा भाडामा लिइने निगमले जनाएको छ ।
पहिलो चरणमा २० वटा पम्प बनाउने योजना निगमको छ । स्थानीय तहले पम्पमा लगानी गरेर निगमसँग साझेदारी पनि गर्न सक्नेछन् । एउटा पम्प निर्माण गर्न जग्गा बाहेक करिब पाँच करोड रुपैयाँ लाग्ने निगमको अनुमान छ । पम्पका लागि एक विगाहा जमिन आवश्यक पर्छ । २४ सै घण्टा सेवा दिने योजना सहित पम्प खोल्न लागिएको हो ।
निगमले स्थापना गर्ने पम्प सुविधा सम्पन्न र अत्याधुनिक हुने जनाएको छ । डिजिटल पम्पमा डिजिटल भुक्तानी, पर्याप्त पार्किङ सुविधा, अग्नि नियन्त्रण सुरक्षा प्रविधि जडान, अपांग मैत्री शौचालय, चिया, खाजाघर सहितका पूर्वाधार हुनेछन् ।





















