सरकारले ल्याएको अध्यादेश फिर्ता नलिए आन्दोलनको आँधिवेहरी ल्याउनसमेत पछि नपर्ने तरुण दलको चेतावनी
प्रकाशित मिति: मंगलबार, बैशाख ०९, २०७७ | १२:४२:०१
काठमाडौँ,९ वैशाख ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरूण दलले सरकारले ल्याएको अध्यादेश फिर्ता लिन आग्रह गरेको छ । लकडाउनका बेला जनतालाई घरभित्र राखेर सरकारले दुइटा अध्यादेश ल्याएको भन्दै तरुण दलले फिर्ता नल्याए आन्दोलन गर्ने चेतावनी दिएको छ ।
अध्यक्ष जितजंग बस्नेतले मंगलबार विज्ञप्ति निकालेर देश, जनता र लोकतन्त्र विरोधी अध्यादेश फिर्ता नलिए नेपाली जनताका पक्षमा आन्दोलनको जस्तोसुकै आँधिवेहरी ल्याउनसमेत पछि नपर्ने चेतावनी दिएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘पछिल्लो काण्डको रूपमा जनतालाई लकडाउनमा घरभित्र थुनेर अध्यादेश ल्याइ अधिनायकवादतर्फ मुलुक धकेल्ने सपना देख्नु दिवास्वप्न भएको हाम्रो ठहर छ। लोकतन्त्र विरोधी अध्यादेश तत्काल फिर्ता लिन अनुरोध गर्दछु।’
यस्ता अध्यादेशले सरकारको आयु पनि समाप्त हुने तरूण दलले बताएको छ।
प्रकाशित मिति : मंगलबार, बैशाख ०९, २०७७ |
१२:४२:०१
6799

















