इजरायलमाथि इरानको ड्रोन आक्रमण संयुक्त राष्ट्रसंघका महासचिवले गरे कडा निन्दा
काठमाडौँ । इरानको सेनाले इजरायलमा ड्रोन र मिसाइल आक्रमण सुरु गरेको छ । सेनाले शनिबार राति यस आक्रमणको जानकारी दिएको हो । मिडिया रिपोर्टका अनुसार अमेरिकी सेनाले केही इरानी ड्रोन खसालेको इजरायली सेनाले बताएको छ । इजरायली च्यानल १२ ले इरानले ड्रोन आक्रमण गरेको जनाएको छ । इरानले प्रहार गरेका केही ड्रोनहरू सिरिया र जोर्डनमा खसालिएको बताइएको छ । इरानले स्थानीय समय अनुसार गएराति १ः४५ बजेदेखि आक्रमण सुरु गरेको थियो । आक्रमण सुरु गरेदेखि नै इजरायलमा तनावको स्थिति छ ।
आक्रमणबाट इजरायलका केही सैन्य क्याम्पमा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको टाइम्स अफ इजरायलले जनाएको छ । इरानले प्रहार गरेका केही ड्रोनलाई इजरायलले र केहीलाई अमेरिकी सेनाले निष्कृय पारेका छन् । अझै पनि केही ड्रोनहरु इजरायलका आकाशमा उडिरहेको देखेको र ती केही घण्टामै इजरायलसम्म आइपुग्न सक्ने इजरायली सेनाले जनाएको छ । यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनी गुट्रेसले इरानले इजरायलमाथि गरेको आक्रमणको कडा निन्दा गरेका छन् ।