भैरहवाबाट अनलाइन सट्टेबाजीमा संलग्न १४ जना भारतीय नागरिक पक्राउ
चितवन, ०४ मंसिर । रुपन्देही प्रहरीले अनलाइन सट्टेबाजीमा संलग्न रहेको आरोपमा १४ जनालाई भैरहवाबाट पक्राउ गरेको छ । मंगलबार बिहान सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ सगुनी पथस्थित अस्फाक आलमको घरबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्ने सबै भारतीय नागरिक हुन् । गोप्य सूचनाको आधारमा अवैध रुपमा अनलाइन गेममार्फत (जुवा सट्टाबाजी) सञ्चालन गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) नविन पौडेलले बताए ।
‘वाट्सएप समेतको माध्यमबाट टाइगर ग्रुप, शिव ग्रुप, विनायक ग्रुप बनाइ क्रिकेट, फुटबल, हक्की, हर्स रेस लगायतका गेमहरु ल्डसै एक्सचेन्ज, अल प्यानल, अल प्यानल ७७७, स्याफरोन, ताज००७, क्लासिकएक्ससीएच९९, गोएक्ससीएच९ लगायतका वेबसाइटहरुबाट अवैध रुपमा अनलाईन बेटिङ ९जुवा सट्टावाजी० सञ्चालन गरिरहेको अवस्थामा १४ जनालाई पक्राउ गरिएको हो’, डीएसपी पौडेलले भने ।
उनीहरुको साथबाट विभिन्न कम्पनीको मोबाइल सेटहरु ४० थान, विभिन्न कम्पनीको ल्यापटप ३ थान र राउटर २ थान समेत बरामद गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।
रुपन्देही प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको हरियाणा प्रदेश पासकुल्ला जिल्ला पिन्जोर पोष्ट अफिस ईन्दोर थानाका ३३ वर्षिय साहिल सोडा, उत्तराखण्ड रानिडिया जिल्ला ज्वालापुरका १८ वर्षिय श्याम गुप्ता, उत्तर प्रदेश देवरीया जिल्ला गौरीबजार पोष्टका २० वर्षिय रवि जैसवाल, हरियाणा प्रदेश फरिदावाद जिल्ला खडकेला थाना खिडि पोष्ट अफिसका २४ वर्षिय अनुराग सिंह, सोही स्थानका १९ वर्षिय नितेश वर्मा, गोरखपुर जिल्ला मोतिताम पोष्ट अफिस बिष्णुपुरा थानाका २१ वर्षिय दिपक जैसवाल र गोरखपुर जिल्ला गाईन्ड पोष्ट अफिसका २२ वर्षिय रजत कुमार रहेका छन् ।
त्यसैगरी उत्तर प्रदेश गोरखपुर जिल्ला एम्स पोष्ट अफिस कुडाघाट पोष्टका १८ वर्षिय लक्की जैसवाल, जिल्ला संतकविर पोष्ट अफिस खलिलवा थानाका २१ वर्षिय सतेन्द्र कुमार, सोही स्थानका २५ वर्षिय अवधेश कुमार, १८ वर्षिय मोहित कुमार, गोरखपुर जिल्ला क्यान्ट थाना मोहदिपर पोष्टका २० वर्षिय प्रियान्सु जैसवाल, सोही स्थानका १९ वर्षिय मनिष पासवान र उत्तर प्रदेश आजमगढ जिल्ला सदर थाना पोष्टका २५ वर्षिय शिवम सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ गरिएकाहरुलाई रुपन्देही जिल्ला अदालतमा पेश गरिएकोमा अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ जिल्ला प्रहरी कार्यालयबाट आवश्यक अनुसन्धान भइरहेको डीएसपी पौडेलले जानकारी दिए ।